देशमा एकेडेमियालाई लिएर एउटा गहिरो फ्रस्टेसन छ । यत्र तत्र सुनिन्छ - "पढेर के काम ", "विश्वविद्यालयको शिक्षा व्यावहारिक भएन", "विश्वविद्यालय थेओरि मात्र सिकाउने ठाउँ भयो, प्राक्टिकल नलेज भएन " अरु धेरै । हुन त सबै विषयको जानकार पनि हैन, देशमा विविध विषयमा के कस्तो पढाइ भैरहेको छ सबै थाहा छैन, थाहा हुन सम्भव पनि भएन तर सन् २०१६मा काठमाडौ विश्वविद्यालयबाट इञ्जिनियरिङ्ग सकेपछि यि आठ वर्षमा ५ वटा पोस्टग्राजुएट जसमा तीनवटा मास्टर्स अनि अरु दुइ वटा विषयमा ब्याचलर गरियो । केके मा गरियो र किन गरियो ति नितान्त मेरा व्यक्तिगत इच्छासँग जोडिएकाले तिनको कुनै विशेष कारण छैनन् , रहर लागेको पढ्दै गइयो , सकियो।
माथि लेखिएका "पढेर के काम ?", "विश्वविद्यालयको शिक्षा व्यावहारिक भएन", "विश्वविद्यालय थेओरि मात्र सिकाउने ठाउँ भयो, प्राक्टिकल नलेज भएन" जस्ता स्टेटमेन्ट र प्रश्नहरु सुन्दा मलाई चैं एउटै कुरा भन्न मन लाग्छ - "युनिभर्सिटी एजुकेसनको काम जागिर दिलाउने हैन , त्यो काम इन्डस्ट्रीको हो" । इन्डस्ट्रीको आवश्यकता अनुसार विषयहरु विश्वविद्यालयहरुले अफर गर्न सक्लान्, तिनमा डिग्रीहरु अफर गर्न सक्लान, त्यो बेग्लै पाटो हो तर हरेक विषयहरुले जागिरको ग्यारेन्टी गर्न सक्नुपर्छ भन्ने कुरा त्यति तार्किक लाग्दैनन् । संसारभर नै स्टेम - साइन्स, टेक्नोलोजी, एञ्जिनियरिङ्ग र म्याथ यी क्याटेगोरीका विषय बाहेकका अरु विषयका डिग्रीले सजिलै जागिर दिलाउँदैन । कसैले प्रतिप्रश्न गर्ला स्टेम पढेकाले चाहिं पाउँछन् भन्ने ग्यारेन्टी छ र ? तिनको प्रश्न जायज छ - पाउँदैनन्, तर स्टेम बाहेक लिबरल आर्ट्सको क्षेत्रमा चाहिँ नेपालमा मात्र हैन संसार भर नै गार्हो छ ।
तर कुन फिल्ड जागिर दिलाउन सक्ने, कसको डिमाण्ड धेरै छ भन्ने कुरा भन्दा पनि मुख्य कुरा के हो भने "युनिभर्सिटी एजुकेसनको काम जागिर दिलाउने हैन "। ज्ञानलाई कमाइ खाने साधनका रुपमा मात्र हेरियो भने संसारका धेरै विषयहरुका डिपार्टमेन्टहरु बन्द गरिदिए हुन्छन् । एकेडेमियाले दिने भनेको वैचारिक क्षमता हो , रिजनिङ्ग क्यापासिटि, एनालाइटिकल एबिलिटी र जुन विषय पढिएको छ ती विषयसम्बन्धित विविध तथ्य, धारणा, सिद्धान्त, खोज आदि इत्यादी।